किशोरीको 'घरजम’ खोसिँदै
बुटवल,
__________________________
फाल्गुन १७ - रूपन्देहीको पड्सरीकी किस्मती चौधरीको १२ वर्षे अबोध उमेरमा बिहे भयो । अहिले उनी २२ वर्षकी भइन् । बिहेपछि दुलाहाको पढाइ र दुलहीको बालापन पूरा गर्न माइत छाडियो । केटा पक्ष गौना लिन (शुभ साइतमा लिन) आउने प्रतीक्षामा बसेकी उनी पतिले अर्को बिहे गरेपछि अलपत्र परेकी छन् ।
बिहे भएको ८ वर्ष बित्दासमेत पोखरभिण्डी-१ की सुनिता चौधरीका लागि गौनाको दिन आएन । बिहेपछि पति र घरपरिवारसँग पनि भेटघाट भएन । काठमाडौंमा ओभरसियर बनेका मैनहियाका गणेश नारायणले आफ्नो उमेर र पेसा मिल्नेसँग प्रेम विवाह
गरेपछि सुनिताको घर जाने बाटो छेकियो । अहिलेको वैवाहिक सम्बन्ध तोड्न र बाल्यकालमा सुनितासँग भएको विवाह स्वीकार्न गणेश तयार छैनन् । '
बिहे गरेकी जवान छोरी माइतमा अलपत्र परिन्, न्यायका लागि पटक-पटक गाउ ँका अगुवा बसियो केही भएन,' सुनिताका बाबु जागेश्वरले भने, 'अड्डाअदालत जाऊँ बाल विवाहको उजुरी लाग्दैन ।'
किस्मती र सुनिताजस्तै बालविवाहको चपेटामा परेका जिल्लाका धेरै किशोरी अलपत्र छन् । पति आएर लैजाने प्रतीक्षामा सिउँदो रंगाएर बसेका उनीहरूको सपना अधुरो बनेको छ । पतिले भने अर्को घरजम गरेका छन् । बाल विवाह हुने गुप्ता, ठहरे, कुर्मी, लोध, हरिजन, बाजिया, कलवार, पासी, पासवान, मौर्य, थारूल्ागायत जातिमा गौना तोडिन थालेको छ ।
बालविवाह कानुनद्वारा निषेधित छ । सानैमा विवाह भएका किशोरीलाई कानुनले सहयोग गर्दैन । पतिले दोस्रो बिहे गरेर अन्याय गरे पनि जेठी पत्नीलाई न्याय दिलाउन नसक्दा समस्या बढेको छ । माधवलीयाकी सरस्वती चौधरी यही मारमा छिन् ।
सरकारी इन्जिनियर पतिले आफूमिल्दो पढाइकी युवतीसँग घरबार गरेपछि प्रहरीमा उजुरी दिएकी थिइन् तर बाल विवाह भएकाले बहुविवाह मुद्दा दर्ता भएन ।
'मैले बालविवाह सकारेर बसें, उहाँले नकारेर अर्को बिहे गर्नुभयो,' २१ वर्षे चौधरीले भनिन्, 'अहिले बाल विवाहलाई कानुनले मान्दैन रे ।'
अ
वैध विवाह भए पनि गौना नलगेका र केटाले अर्को विवाह गरेर अलपत्र परेका घटना महिला सम्बद्ध संघसंस्था तथा प्रहरीमा आउन थालेका छन् ।
यस्ता १७ वटा मौखिक उजुरी जिल्ला प्रहरीमा आएका छन् । 'कानुनी कारबाही गर्न नसके पनि यस्ता धेरै उजुरी छलफलबाट समाधान प्रयास गरिएको छ,' महिला प्रहरी सेलका निरीक्षक रामबहादुर खत्रीले भने ।
महिला तथा बालबालिका कार्यालयमा गौना नलगेका र लगे पनि स्तर नमिलेर समस्या भएका १३ घटना दर्ता भएका छन् ।
महिला विकास अधिकृत उषा रावलका अनुसार यस्तो बिहेपछि बालकले पढ्न पाउँछन्, बालिकाले पाउँदैनन् । केटी पक्ष कुरेर बस्छन् । शिक्षाको असमानताले बेमेल हुने गरेको उनले बताइन् । 'अभिभावकले बालविवाह गराएको सजाय किशोरीले पाएका छन्,' उनले भनिन्, 'घर नभित्र्याउनेभन्दा भित्र्याएर किशोरीमाथि परिवारले गर्ने अन्याय झन् पीडादायी छ ।'
अबोध बालबालिकालाई जबर्जस्ती बिहे गराउँदा किशोरी अलपत्र परेको महिला अधिकारकर्मी विजय लक्ष्मी राय बताउँछिन् । लामो समय भेट नहुने भएकाले उनीहरूबीच मायाप्रेम झाँगिँदैन । सोही कारण पढेका केटाले आफू सरहकी केटी बिहे गर्छन् । बालविवाह रोक्नु नै समस्याको स्थायी समाधान भएको राय बताउँछिन् ।
प्रकाशित मिति: २०७० फाल्गुन १७ ०८:२६
Comments[ 0 ]
Post a Comment