४४ म्यानपावरले तिरे ४५ लाख
हर्जाना विभागद्वारा ८१ म्यानपावरमा निगरानी
१२ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले ४४ वटा म्यानपावर कम्पनी र तिनका एजेन्टहरुलाई जरिवाना तिराएको छ ।
विभागले ग्लोबल एलायन्सलाई २ लाख तथा मोरङ्ग, सुनसरी, झापा र पोखरामा सक्रिय ४३ वटा म्यानपावरलाई जनही एक/एक लाख रुपैयाँ जरिवाना तिराएको हो । विभागको टोलीले अनुगमनका क्रममा नियमविपरीत गतिविधिमा संलग्न म्यानपावरलाई जरिवाना गराएको हो ।
विभागको सोमबार बसेको बैठकले ती म्यानपावरमाथि कारबाही गर्ने निर्णय गरेको हो । मोफसलमा रहेका म्यानपावरले वैदेशिक रोजगारीमा जाने युवाहरुबाट सरकारले तोकेभन्दा बढी रकम लिएको, म्यानपावरका नाममा ठगी गरेको, विदेश जान खोज्ने युवाहरुलाई अनावाश्यक दुःख दिएको जस्ता गुनासो आएपछि विभागको टोलीले अनुगमन गरेको थियो ।
केन्द्रबाट स्वीकृति लिएर मात्रै जिल्लामा एजेन्ट राख्न पाइने ब्यवस्था विपरीत विभिन्न जिल्लामा शाखा कार्यालयसमेत खोलेर कर्मचारी राख्ने गरेको पाइएकाले उनीहरुमाथि आर्थिक सजायँ गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता बद्रीकुमार कार्कीले अनलाइनखबरलाई बताए । प्रवक्ता कार्कीका अनुसार कतिपयले शाखा कार्यालयबाटै आर्थिक लेनदेन गर्ने तथा राहदानी तुरुन्त केन्द्रमा नपठाई थन्क्याएर राखी युवाहरुलाई झुलाउने गरेको पाइएकाले कारबाही गरिएको हो ।
८१ म्यानपावरमाथि निगरानी मोफसलका ठूला सहरमा सक्रिय ८१ वटा म्यानपावरको अनुगमनका क्रममा ४४ वटालाई जरिवाना तिराइएको हो भने ३७ वटालाई लिखित चेतावनी दिइएको छ । एजेन्टले शाखा खोलेर आर्थिक लेनदेन गर्न नपाइने प्रावधान मिचेको पाइएकाले ती म्यानपावरमाथि कारबाही गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागको अनुगमनका क्रममा अवैधरुपमा खोलिएका शाखामा सम्बन्धित एजेन्टले काम नगरी अरु नै व्यक्ति राख्ने गरेको पाइएको थियो ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment