फलाउने फुरुंग, बेच्ने भरंग फागुनमै खलखली पसिना
Sunday, March 2, 2014
फलाउने फुरुंग, बेच्ने भरंग
काठमाडौ, फागुन १९ – मध्य फागुनमै खलखली पसिना बगाउने चर्को घाम ! आकाशमा एक धर्सो बादल देख्न पनि मुस्किल ।एकझर पानी पर्ने आशा गर्दागर्दै हप्तौं बित्थ्यो । खेतबारी बाँझाको बाँझै । बेलामा मकै छर्न नपाउँदा दिनरातको दिग्दारी । पोहोरपरार यो बेला धेरै किसानले यस्तै समस्या भोग्थे । तर यसवर्ष एकझर पानी कहिले पर्छ भनेर बाटो हेर्नुको सट्टा झरी कहिले थामिएला भनेर पर्खनुपर्ने अवस्था आयो ।
मौसमविदलाई समेत छक्क पार्नेगरी यसवर्ष हिउँदेवर्षा लम्बिदा किसानहरु सबैभन्दा धेरै खुशी भएका छन् । किनकी यो बेला गहुँ, चना, मुसुरो लगायतका हिउँदेबालीमा दाना लाग्ने सिजन हो ।
तराईका केही ठाउँमा तोरी भित्र्याउने बेला भएपनि धेरै क्षेत्रमा भने हिउँदे बाली पसाउने याम सुरु भएको छ । त्यसैले तिर्खा लागेर ओठमुख सुकेको मान्छेलाई बाटोमा धारो भेटे जस्तै भएको छ हिउँदेबालीलाई यतिबेलाको झरी । ‘भित्र्याउने बेला भएको चनामा केही वेफाइदा भए पनि यो झरीले सबै हिउँदेबालीलाई धेरै फाइदा पुगेको छ’ नेपाल कृषि अनुसन्धान परिषद नार्कका बालीविज्ञ हरिकृष्ण उप्रेतीले भन्नुभयो । पहाडी क्षेत्रमा मकै लगाउने बेला पनि सुरु हुन लागेकाले खेतबारी खनजोतको लागि यो झरीले निकै सघाउ पुर्याएको छ ।
खेतबारीमा लहलह तरकारी फलाएर दिनहुँजसो गोजीमा पैसा पार्न सिपालु किसान झन् गद्गद् छन् । यो बेला खोलानालामा पानी कम हुने भएकाले तरकारीमा सिंचाई गर्न समस्या हुन्थ्यो ।
तर आकाशबाटै पानी वर्षिएपछि अलि दिन कुलो र पाइप बिर्सिए पनि हुने भएको छ । वर्षा नै भएन भने पनि अहिलेको पानीले नै केही दिन खेतबारीमा चिस्यान कायमै रहन्छ ।
तरकारी व्यापारी चिन्तित
झरीले किसान फुरुंग हुँदा व्यापारी भने भरंग भएका छन् । तरकारी फलाउने किसानलाई झरीले राहत दिए पनि बेच्नेलाई भने घाटा भएको उनीहरु बताउँछन् । ‘किसानलाई त फाइदा नै गर्यो होला, हामीलाई भने झरीले नोक्सान मात्रै पुर्यायो’ काठमाडौं कालिमाटीका व्यापारी भगवानचन्द्र उप्रेतीले भन्नुभयो ‘ढुवानी सहज नहुँदा आयात घट्यो, सँगै व्यापार पनि ।’
उप्रेतीका अनुसार झरीले सडक बिगार्दा तरकारी ओसार्ने गाडी कम मात्रै चले । जसका कारण किसानले फलाएका तरकारी खेतबारीमै रहे । थोरै मात्र बजार भित्रिए । ‘एक दिन तरकारी नटिप्दा किसानलाई त्यति धेरै घाटा हुँदैन, तर एकदिन आयात घट्दा बजारमा भने असर गर्छ’ उप्रेतीले भन्नुभयो ।
उहाँका अनुसार झरीका कारण आयात घट्दा आइतबार कालिमाटीमा सबैजसो तरकारीको भाउ २० देखि २५ प्रतिशतले बढ्यो । ‘डेढसय मेट्रिक टन आयात घट्यो, जसका कारण महंगी बढ्यो’ उप्रेतीले थप्नुभयो, ‘महंगी बढेपछि उपभोक्ता पनि घट्छन् ।’
Send to your friends or hit like button ==>
Tags:
Intertainment
Comments[ 0 ]
Post a Comment