क्यासिनोमा जुवा खेलेको हेर्नेलाई पनि कारबाही
२०७० फागुन १९ गते ७:०१ मा प्रकाशित
१९ फागुन, काठमाडौं ।
क्यासिनो वा अन्य जुनसुकै ठाउँमा जुवा खेलिरहेको अवस्थामा कोही पक्राउ परे उसलाई सापटी दिने तथा सँगै बसेर खेलेको हेर्नेलाई कानुनी कारबाही हुने भएको छ।
कानुन आयोगले जुवा ऐन २०२० लाई खारेज गर्न मस्यौदा गरेको ‘जुवा वा सट्टाबाजी खेल्ने वा खेलाउने कार्य नियन्त्रण गर्न बनेको विधेयक’ मा जुवाघरबाट वा सट्टेबाजीसँग पक्राउ परे उसलाई २५ हजार जरिवाना तिराउने तथा सापटी दिने व्यक्तिलाई रकम जफत गरी न्यूनतम कारबाही गर्ने उल्लेख छ।

विधेयकमा जुवा खेल्नेलाई बिगोबमोजिम जरिवाना र एक वर्षसम्मको कैद सजाय गर्न सकिने प्रावधान छ। बिगो नखुलेको अवस्थामा ५० हजार रुपैयाँ जरिवाना हुने मस्यौदामा उल्लेख छ।
जुवा खेलेको अवस्थामा पक्राउ परेका व्यक्तिहरू कानुनको अभावले उम्किने गरेकाले नयाँ व्यवस्था गर्न लागिएको हो। गृहमन्त्रालयले तारे होटलमा सञ्चालन हुने जुवाघर (क्यासिनो) मा जाने नेपालीलाई कडा सजाय गर्न र व्यक्तिको घरमा समेत जुवा निरुत्साहित गर्न पुरानो ऐन संशोधनका लागि आग्रह गरेपछि कानुन आयोगले मस्यौदा विधेयक तयार पारेको नागरिक दैनिक छ ।
यसअघि क्यासिनोमा पक्राउ परेका नेपाली जुवा ऐन २०२० अनुसार १ सय रुपैयाँ जरिवाना तिरेर छुट्ने गरेका थिए।
ऐनलाई समसामयिक संशोधन गरी सजाय कडा बनाउन अघिल्लो व्यवस्थापिका संसदको लेखा समितिले गृहलाई निर्देशन दिएको थियो।
मस्यौदा विधेयकको दफा १८ को उपदफा २ मा क्यासिनोमा नेपाली प्रवेश गर्न नपाउने र प्रवेश गरेको पाइए जुवा खेले बराबरको कसुरमा कारबाही गरिने मस्यौदा विधेयकमा उल्लेख छ।
जुवा खेलिरहेको स्थानमा च्याँखे थाप्ने व्यक्तिलाई समेत कारबाही गरिने भएको छ। विधेयकको दफा ५ ले जुवा खेलेको ठाउँमा च्याँखे थाप्न निषेध गरेको छ। च्याँखे थापे बिगोबमोजिम जरिवाना र बिगो नखुले ५० हजार रुपैयाँसम्म जरिवाना हुने विधेयकमा उल्लेख छ।
जुवा वा सट्टेबाजीको सूचना दिने व्यक्तिलाई पुरस्कार दिने प्रस्तावसमेत विधेयकमा गरिएको छ।
मस्यौदा विधेयकको दफा १७ मा सूचना दिने व्यक्तिले जरिवानाको १० प्रतिशत रकम पुरस्कार स्वरूप पाउने उल्लेख छ।
सार्वजनिक महोत्सव, मेला, प्रदर्शनी आदिमा मनोरञ्जनका लागि भने सानोतिनो चल सम्पत्ति पाउने वा गुमाउने गरी कुनै खेल सरकारको स्वीकृतिमा सञ्चालन गर्न सकिनेछ। मेलापातमा जुवा नियन्त्रण गर्ने नाममा प्रहरीले लाभ खोज्दा विवाद/झडप हुने गरेकाले यस्तो प्रावधान थपिएको सम्बद्ध स्रोतले जनाएको छ।
पटके कसुर गर्नेलाई प्रत्येक पटक एक र एक महिनाका दरले थप कैद सजाय हुने व्यवस्था पनि संशोधित मस्यौदामा छ। यस्तै सरकारी वा सार्वजनिक लाभको पदमा रहेको व्यक्ति जुवा वा सट्टाबाजीमा संलग्न भएको प्रमाणित भए अन्य व्यक्तिलाई हुने सजायमा एक महिना थप कैद सजाय हुनेछ। ऐनअनुसार कसुर गर्न प्रयोग भएका वा प्रयोजनका लागि राखिएका तथा जुवाबाट आर्जित सम्पूर्ण चल–अचल सम्पत्ति सरकारले जफत गर्न सक्छ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment