हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग मध्ये दाँत पनि एक हो। दाँतले हामी खानेकुराहरु चपाउने काम गर्छौं । दाँतले खानेकुरा चपाउने काम मात्रै गर्दैन, यसले मानिसलाई सुन्दर बनाउने काम पनि गर्छ। दाँत छैन भने मानिस उमेर नै नपुगिकन पनि बुढो मानिस जस्तो देखिन्छ।
हामीले दाँतलाई स्वस्थ्य राख्न सकेनौ भने दाँतमा किरा लाग्ने गर्दछ। कसरी लाग्छ त दाँतमा किरा ?
यसको रहस्य पनि बुझिराखौँ :
स्वस्थ दाँत धेरै बलियो हुन्छ । दाँत बलियो हुनुको कारण यसको बाहिरी भागलाई ढाक्ने कडा बस्तु इनामेल हो । इनामेल सेतो रंगको हुन्छ। यो नै हाम्रो शरीरको सबैभन्दा कडा बस्तु हो। इनामेलले ढाकेको भन्दा भित्रपट्टिको दाँतको भागलाई डेन्टाइन भनिन्छ । यो भाग चाहिँ इनामेल जस्तो कडा हुँदैन। यो भाग नरम हुने भएकोले मौका पाएमा कीटाणुहरु सजिलै यसमा पस्न सक्दछन्।
दाँतको यस कमलो भागलाई इनामेलले छोपेर राख्ने हुनाले सजिलै यस भागमा कीटाणु भने पस्न सक्दैन। डेन्टाइनभन्दा तलको दाँतको भागलाई पप क्याभिटी भनिन्छ । गिजाभन्दा बाहिर निस्केको दाँतको भागलाई क्राउन भनिन्छ। हाम्रा मुखभित्र लाखौंको संख्यामा कीटाणुहरु हुन्छन्।
मुखमा हुने यस्ता कीटाणुहरुलाई ब्याक्टेरिया भनिन्छ। यी ब्याक्टेरियाहरुमध्ये धेरैजसो मानिसका लागि फाइदाजनक हुन्छन्।
किनभने, यिनीहरुले खानेकुरालाई टुक्र्याएर, गलाएर मानिसले सजिलै पचाउन सक्ने बनाइदिन्छ। तर साथसाथै, कतिपय ब्याक्टेरियाहरु चाहिँ हानि गर्ने खालका पनि हुन्छन् । मुखमा हुने ब्याक्टेरियाहरुमध्ये एसिड उत्पादन गर्ने ब्याक्टेरियाहरु चाहिँ दाँतका लागि शत्रु नै हुन्छन्।
इनामेल हाम्रो शरीरकै सबैभन्दा कडा बस्तु हो। तर यस्तो कडा बस्तुलाई पनि अमिलो वा एसिडले खियाइदिने गर्छ। हामीले अमिलो खाँदा दाँत कुडिनुको मुख्य कारण पनि अमिलोले इनामेललाई खियाइदिएकैले हो। वास्तवमा, डेन्टाइन दाँतको अति संवेदनशील भाग हो। हामीले दाँत कुडिएको महसूस गर्नुको कारण पनि हामीले खाएको वा पिएको खानेकुराले डेन्टाइनलाई छुन पुग्दा नै हो । रमाइलो कुरा के छ भने, दाँतमा इनामेल बन्ने काम चाहिँ निरन्तर चलिरहेको हुन्छ।
त्यसैले अमिलोले खियाइदिएको इनामेलको ठाउँमा केही समयपछि नयाँ इनामेल आउँछ। अनि हाम्रो कुडिएको दाँत पनि ठीक भएर जान्छ।
सबैले भन्ने गर्छन्, धेरै गुलियो कुरा खानु हुँदैन। चिनी, चकलेट धेरै खायो भने दाँतमा कीरा लाग्छ भनेर सबैले भन्ने गर्छन् । यो कुरा सही पनि हो। किनभने, हामीले गुलियो वस्तु खाँदा त्यसका केही अंशहरु हाम्रो दाँतमा अड्किएर बसेको हुन्छ।
धेरैजसोको गुलियो खाएपछि दाँत ब्रस गरिहाल्ने बानी हुँदैन। गुलियो नखाने मानिसको दाँत पनि नियमित सफा गरेन भने दाँतमा कीरा लाग्ने गर्छ किनभने खानेकुराहरुमा पाइने कार्बोहाइड्रेड पनि गुलियोकै एक रुप हो। यसरी सोझै गुलियो खाँदा वा नखाँदा पनि दाँत सफा गरेन भने कीरा लाग्नुको कारण चाहिँ त्यसैले त्यस्तो गुलियो वस्तुहरु वा कार्बोहाइड धेरै बेरसम्म दाँतमा अड्केर बसिबस्नु नै हो।
त्यसरी दाँतमा अड्किएको गुलियो वा कार्बोहाइड्रेडलाई मुखमा हुने एक किसिमको व्याक्टेरियाले अमिलो एसिडमा बदलिदिन्छ । यसरी दाँतमा अमिलो बन्यो र केहीबेरसम्म त्यत्तिकै रह्यो भने त्यसले इनामेललाई खियाइदिन्छ । धेरै गुलियो खानेहरुको दाँतमा कीरा लाग्नु वा दाँत बिग्रनुको खास कारण नै यही हो । किनभने धेरै गुलियो खानेहरुले सधैं दाँत सफा गरिरहँदैन ।
सधैं दाँत सफा नगरेपछि उनीहरुको दाँतमा ब्याक्टेरियाले अमिलो बनाइदिन्छ।
यसरी दाँतको इनामेल अमिलोले खियाइदिएपछि दाँतको नरम भाग डेन्टाइनमा सजिलै अरु हानिकारक व्याक्टेरियाहरु पस्न पाउँछ। त्यसरी डेन्टाइनमा पसेका व्याक्टेरियाले गर्दा हाम्रो दाँत अति नै दुख्ने गर्छ भने दाँतमा कालो कालो प्वाल नै पर्न पनि सक्छ। दाँतमा परेका त्यस्ता प्वालहरुलाई हामी कीरा लागेको भन्ने गर्छौं। दाँतमा लागेको कीरालाई बेलैमा उपचार गरिएन भने ब्याक्टेरियाको आक्रमणले दाँतको अझ भित्री भागहरुमा, जराहरुमा र दाँतसम्म आएका नसाहरुमा घाउ बनाइदिन सक्छ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment