दाइजोमा गाडी नल्याउँदा निकाला
********************
बुटवल, फाल्गुन १९ - मागेजति दाइजो नल्याउँदा यहाँकी एक महिलालाई परिवारले घरबाट निकालेको छ । बुटवल ११, ज्ञवालीपथकी गंगा सुवेदीलाई परिवारले घरनिकाला गरेको हो । नाबालक छोरासहित २ वर्षअघि घरबाट निकालिएकी उनी अहिले अलपत्र छिन् ।
'कहाँ जाऊँ, के गरूँ', उनले रुँदै भनिन्, 'नाबालक छोरो च्यापेर धेरै दिन माइत अटिँदो रहेनछ ।' ४ वर्षअघि बिहे गरेकी गंगाका अहिले २ वर्षे छोरा छन् ।
पुरुष देख्यो कि 'बाबा' भन्दै बोलाउने गरेको उनले सुनाइन् । 'तर यसका बाबु हामीलाई अलपत्र छाडेर लुकेका छन्', उनले भनिन् । गंगाका पति कृष्ण घरका एक्ला छोरा हुन् ।
महिलाको भनाइमा दाइजोमा आफन्तलाई सुनका गहना र नगद रकम नल्याएको निहुँमा उनलाई बिहेको दोस्रो दिनदेखि पति र सासू लक्ष्मीले शारीरिक तथा मानसिक यातना दिने गरेका थिए ।
यातनाबाट बच्न गंगाले सुरुसुरुमा मागअनुसार माइतीबाट गहना र रकम ल्याएर खुसी पार्ने गरेकी थिइन् ।
गाडीको माग आएपछि प्रतिकार गर्न थालेकी गंगालाई बिहेको ४ महिनापछि घरनिकाला गरेका थिए । 'घर आउने भए गाडी मागेर आइज भन्दै निकालेका थिए', गंगाले भनिन्, 'धेरै बिन्ती गरेँ । अलापबिलाप गरेर रोएँ तर कसैले सुनेन ।'
घर निकालिएपछि उनी गोलपार्कस्थित माइतीको शरणमा पुगेकी थिइन् । माइती पक्ष तथा घर पक्षका मामा ससुराको दबाबमा १ महिनापछि फर्काइएको थियो । आफन्तको दबाबमा घर ल्याए पनि अर्को दिनबाट उनलाई पुनः दाइजोको मागसहित यातना सुरु गरेका थिए ।
यातना सहेर बसेकी उनलाई गर्भ रहेको २ महिनामा पुनः घरनिकाला गरेका थिए । माइतीको शरणमा गएकी उनलाई बच्चा जन्मिएपछि मात्र आफन्तले घरमा फर्काएका थिए । गंगाका अनुसार यसपटक पनि बच्चाको न्वारानपछि पुनः दाइजोको मागसहित घरमा यातना दिन सुरु भएको थियो । पतिले दाइजो नल्याए अर्को बिहे गर्ने धम्की दिएका थिए ।
शारीरिक र मानसिक यातनाबाट विक्षिप्त उनी छोराको मुख हेरेर चुपचाप बसेकी थिइन् । 'तैपनि घरमा बस्न दिएनन्', गंगाले बिलौना गरिन्, 'मैले धेरै शारीरिक र मानसिक यातना पाएर पनि छोराको मुख हेरेर चुपचाप सहेर बसेकी थिएँ । नाबालक छोरासहित सडकमा निकालिदिए ।' २ वर्षअघि दोस्रोपटक घरनिकालामा परेपछि माइत गएकी उनलाई पटकपटक आफन्तले फर्काउने कोसिस गरेका थिए । आफन्तको दबाब बढेपछि घर छोडेर भागेका पति अहिले काठमाडौंमा रहेको आफन्त बताउँछन् । मोबाइल नम्बर फेरेर बसेका उनी पत्नीसँग भने बेखबर छन् ।
'झन्डै डेढ वर्ष अघिसम्म फोन गरेर तँ आमाका लागि बिहे गरेकी होस्, बस्ने भए आमाको मागअनुसार दाइजो ल्याएर घर बस् । म अर्को बिहे गर्छु भनेर धम्क्याउँथे', गंगाले भनिन्, 'म छोराको मुख हेरेर भए पनि त्यसो नगर्नुस् भनी रुन्थेँ । अहिले त सम्पर्कै छैन ।' छोराले बाबु खोज्न थालेपछि ६ महिनाअघि हिम्मत गरेर गंगा घर फर्केकी थिइन् ।
सासूले घरभित्र पस्न नदिएपछि उनले पुनः माइती फर्केर अंश तथा मानाचामल माग गर्दै उजुरी हालेकी छन् । उजुरीपछि पत्तो पाइन् परिवारले रुपन्देहीका विभिन्न स्थानमा रहेका जग्गा र घडेरी आफन्तका नाममा नामसारी गराएका छन् । अदालतमा समेत पति बिरामी भएकाले ८० लाखभन्दा बढी ऋण लागेको दाबी गरेका छन् ।
जिल्ला अदालतमा उक्त मुद्दाको प्रक्रिया अगाडि बढेको छ ।
पहिलो सुनुवाइमा जिल्ला न्यायाधीशले घरमा बस्न आग्रह गरेपछि आइतबार गंगा पुनः घरमा फर्केकी छन् । प्रहरी, छिमेकी, स्थानीय अगुवा तथा महिला अधिकारकर्मीसहित घरमा आएकी उनलाई घरपरिवारले गेटमा ताल्चा लगाएर रोकेका थिए । सासू लक्ष्मीले अदालतको मौखिक आदेश नमान्ने लिखित आदेश ल्याए मात्र ताला खोल्ने अड्डी कसेपछि भेला भएका सबैले ताल्चा फोरेर घरभित्र पस्न सुझाएका थिए ।
Comments[ 0 ]
Post a Comment