दिलीप सिंह/नयाँ पत्रिका
सिरहा,
एक महिलालाई लुट्ने प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । मल्हनीया शमशेरपुर–८ सप्तरी घर भएकी ३० वर्षीया सेलकुमारी चौधरीलाई बुधबार लहानमा बिदामा रहेका प्रहरी सहायक निरीक्षक दीपेन्द्रनारायण चौधरीले लुटेका थिए ।
सहायक निरीक्षक चौधरीले सेलकुमारीको ५० हजार रुपैयाँको झोला खोसेर भागेका थिए । उनी राष्ट्रिय वाणिज्य बैंक लहानबाट पैसा निकालेर प्यारागन बोर्डिङ स्कुलअगाडि पुगेपछि उनको साथबाट झोला खोसेर सहायक प्रहरी निरीक्षक चौधरी भागेका हुन् । रकम लुटेर मोटरसाइकलमा भाग्न खोजेपछि सेलकुमारीले पछाडिबाट समात्दा दुवैबीच केहीबेर लछारपछार भएको थियो ।
लछारपछार हुँदा सेलकुमारी घाइते भएकी छिन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनले गुहार मागेपछि प्रहरी सहायक निरीक्षक चौधरीले हेलमेटले उनलाई कुटपिट गरेर मोटरसाइकल छाडेर भागेका थिए ।लुटेर भाग्दै गरेका चौधरीलाई स्थानीयले लखेटेर पक्राउ गरेका थिए । पक्राउपछि स्थानीयले कुटपिट गर्दा चौधरी पनि घाइते भएका छन् । कुटपिट गरिरहेको थाहा पाएर पुगेका प्रहरीले उनलाई पक्राउ गरी उपचारका लागि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा भर्ना गराएको छ । उपचारका क्रममा चौधरी प्रहरी भएको स्थानीयले थाहा पाएका हुन् ।
प्रहरी सहायक निरीक्षक चौधरीले आठ वर्ष लहान प्रहरीमै काम गरेका थिए । त्यसपछि उनी सप्तरी सरुवा भए । हाल उनको दरबन्दी मोरङको सिप्रचौकीमा रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।उनको स्थायी घर कल्याणपुर–९ सप्तरी हो । लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार रुपैयाँ लुटेको आरोपी स्थानीयबाट कुटिएका चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । सोधपुछका क्रममा प्रहरी सहायक निरीक्षक चौधरीले आफू भइपरी आउने चारदिने बिदामा रहेको बताएका छन् ।
सेलकुमारी पनि लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा उपचाररत छिन् । ‘छोराछोरीको स्कुल फिस तिर्न प्यारागन विद्यालय जादै थिएँ । बैंकबाट रुपैयाँ निकालेर प्यारागन विद्यालयको गेटमा पुगेपछि हेलमेट लगाएको एकजना आएर सञ्जीव कहाँ छ भनेर सोध्यो,’ उनले भनिन्, ‘मैले चिन्दिनँ भन्नेबित्तिकै मेरो हातमा रहेको झोला लिएर भाग्दै मोटरसाइकलमा चढ्न खोज्यो ।’ बाइकमा बसिसकेपछि पछाडिबाट समातेर लडाएको उनको भनाइ छ ।
Send to your friends or hit like button ==>
Comments[ 0 ]
Post a Comment